इनरुवा, फागुन २४ गते । सुनसरी सदरमुकाम इनरुवामा सरकारी निकायबाट कुनै कार्यक्रम नभएपनि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अखिल नेपाल महिला संघ क्रान्तिकारीले शहिद तथा बेपता परिवारका सदस्यहरुलाई सम्मान सहित विविध कार्यक्रम गरी मनाइएको छ ।
११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इनरुवा नगर कमिटीको आयोजनामा लैंगिक समानताका लागि नबिनता र प्रबिधी भन्ने मुल नारा सहित अन्तरकृया तथा सम्मान कार्यक्रम गरिएको हो । अनेमसंघ क्रान्तिकारीले इनरुवामा रहेको नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा जनयुद्ध र मधेश आन्दोलनमा ज्यान गुमाएका इनरुवाका शहिदहरु सितोश सिवाकोटी, जीवनाथ घिमिरे, विजय कोईराला, मदन श्रेष्ठ, हरि मेहता र श्यामसुन्दर मेहता सहित ६ शहिद परिवारका सदस्यहरुलाई सम्मान गरेको संघकी नगर अध्यक्ष राधा भट्टराईले जानकारी दिनुभयो ।
सम्मान पछि कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरीले राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने बताउनुभयो ।
चौधरीले विश्वभरका श्रमिक महिलाको मुक्तीको आन्दोलनको सम्झनामा मनाईने मार्चलाई राजनीतिमा महिलाको पहुच, महिलामाथि हुने हिंसा, दुव्र्यवहार नियन्त्रण र महिलाहरूको मानव अधिकार सुनिश्चत गर्नको लागि संविधानमा भएकोको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन सहित थप महिलाको सभागिता बढाउन संविधान र कानुनमा संसोधन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो र
पार्टीका नेता एवम् कोशी प्रदेशका पूर्व उपसभामुख सरस्वती पोखरेलले संविधान अनुसार राज्य महिलाका अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको भएपनि महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाही गर्ने दायित्वबाट बेलाबखत पन्छिने भएकाले त्यसमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले महिलाहरू अझै पनि सामाजिक कुरीति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । अधिकारकर्मी एवम् अन्तर पार्टी सञ्जालका सुनसरी सचिव आम्बिका घिमिरेले महिलाहरूको सबैखाले अधिकार तथा संविधानले प्रत्याभुत गरेको अधिकार प्राप्तिको लागि महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भएको अधिकार प्राप्त गरि थप अधिकार र पहुच तथा सहभागिताका लागि पहल गर्नुपर्ने बताउनुभयो । नेकपा एसकी नेता सरस्वती लुईटेल केसीले संविधानले महिलाको अधिकार सुनिश्चित गरेकाले देशभर नै महिलाको सहभागिता बढेको बताउनुभयो । कार्यक्रममा पार्टीका नेता विश्व थारु, ओमकार दाहाल, रमेश भट्टराई, तोया गिरी पोदार, पत्रकार जयकृष्ण यादव सहितले दिवशको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष राधा भट्टराईको अध्यक्षता एवम् पूर्व राज्य मन्त्री रामकुमारी चौधरी रोजिनाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यसैबीच एक जना सुत्केरी महिलालाई आमा र बच्चा समेतलाई पुग्ने कपडा सहित सम्मान गरेको जनाएको छ ।
१, सुनसरीको इनरुवामा दिवशको अवसरमा सम्मानितहरु ।