सर्लाही । सर्लाही जिल्लाको मलँगवास्थित दुर्गा मूर्ति विसर्जनको क्रममा पूर्वदेखि नै प्रयोग हुँदै आएको रुट परिवर्तन गरेको भन्दै हिन्दु समुदायका व्यक्तिहरुले विरोध जनाएको छ ।
नवरात्रीपछि दुर्गाको प्रतिमा विसर्जनको लागि पहिलेदेखि प्रयोग हुँदै आएको रुट प्रशासनले सुरक्षा दृष्टिकोणले परिवर्तन गरेपछि समान्य झडप भएको थियो । हिन्दु समुदायका व्यक्तिहरुले पूर्वदेखि नै प्रयोग हुँदै आएको रुटबाटै दुर्गाको प्रतिमा जाने अडान लिएपछि समान्य झडप भएको थियो । यद्यपी, अहिले अवस्था समान्य रहेको छ ।
प्रत्येक बर्ष मलँगवामा दुर्गाको प्रतिमालाई नगर परिक्रमा गराउँदै विसर्जन गर्दै आएकोमा यसपाली प्रशासन र स्थानीय सरकारले अनुमति नदिएपछि आक्रोस बढेको थियो । केही महिना अगाडी भएको घटनालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिनको लागि प्रशासनले पूर्व तयारी गरे अनुसार रुट परिवर्तन गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
सिडिओ धमलाका अनुसार, पहिलेदेखि चल्दै आएको रुटबाटै जानुपर्ने अडान राख्दै भीडबाट एक दुई जनाले प्रहरीमाथि ढुँगा फालिदिएपछि प्रहरीले बचाउमा लाठीचार्ज गरेको थियो । तर, अवस्था अहिले समान्य रहेको र मूर्ति विसर्जन भईरहेको उनले बताए ।
प्रशासनले रुट परिवर्तन गरिदिएपछि केही बेर मूर्ति सडकमै होल्ड गरिएको थियो ।