मंसिर ११ गते, इनरुवा । सुनसरीकाे काेशी गाउँपालिकाबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ प्रहरीले गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार सोमबार राति साढे ८ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएका थिए ।
उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले तत्काल प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट दुई थान र सामान किनेको दुईओटा पसलबाट एक-एक थान एक हजार दरको नेपाली रुपैयाँको नक्कली नोट बरामद गरेको थियो ।
नक्कली नोटसहित पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।