असार २ गते,इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा सञ्चालित विभिन्न पेट्रोल पम्पहरूमा उपभोक्ताहरूले इन्धनको परिमाणमा अनियमितता भएको गुनासो गरेका छन्।
सेवाग्राहीहरूका अनुसार, पेट्रोल तथा डिजेल वितरण गर्ने मेसिन (मिटर)मा तौल देखिएजस्तै भए तापनि, गाडीको ट्याङ्कीमा हालिने इन्धन अपेक्षाभन्दा कम हुने गरेको छ। “५०० रुपैयाँको तेल हाल्दा सामान्यतया गाडीले कति किलोमिटर चल्ने भन्ने अनुभव हुन्छ, तर यहाँ त्यो हिसाब मिल्दैन,” एक सेवाग्राहीको गुनासो छ।
सार्वजनिक रूपमा मिटर सही देखिए पनि तेल वितरणको वास्तविकता फरक भएको भन्दै स्थानीयले सम्बन्धित निकायलाई अनुगमन गर्न माग गरेका छन्। “तौलमा छलकपट हुन नदिने हो भने समयमा नियमित अनुगमन गर्नुपर्छ,” उपभोक्ताहरूको जोड छ।
इनरुवाका अधिकांश पम्पहरूमा दैनिक सयौं सवारी साधनमा इन्धन हालिने गर्छ, तर गुनासो भने दिनप्रतिदिन बढ्दो छ।
अब सम्बन्धित स्थानीय प्रशासन, गुणस्तर तथा नापतौल विभागले तत्काल प्रभावकारी अनुगमन गरेर यथार्थ छानबिन गर्नुपर्ने देखिएको छ।
यसले उपभोक्ता अधिकारको संरक्षण मात्रै होइन, पम्पहरूको पारदर्शिता कायम राख्न पनि टेवा पुग्नेछ।