इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित नवयुग एकेडेमी मा पूर्व–विद्यालय तहका विद्यार्थीहरूको दीक्षान्त समारोह २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
शनिबार विद्यालय परिसरमा आयोजित उक्त समारोह प्याब्सन इनरुवा नगर अध्यक्ष रमेश प्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा एलकेजी, युकेजी, कक्षा वान र कक्षा टु का विद्यार्थीहरूले स्वागत गीत, नृत्य, पारम्परिक भेषभूषासहितको फेसन शो तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।
उक्त अवसरमा प्रमुख अतिथि गुरागाईंले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा दीक्षित गराएका थिए।
विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि विद्यालयले गरिरहेका प्रयासहरूको प्रशंसा गरे। प्रारम्भिक शिक्षाले नै बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता सिर्जनात्मक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उनको बताउनुभयो ।
विद्यालयका प्रवन्ध निर्देशक खगेन्द्र पोखरेलले विद्यार्थीहरूको बौद्धिक, सिर्जनात्मक तथा सामाजिक क्षमता अभिवृद्धि गर्न विद्यालयले समय–समयमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले यस्ता कार्यक्रमहरूले बालबालिकाको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए।
समारोहले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै बालबालिकालाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा दिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालयका प्राचार्य तुलसी नेपाल, प्रमुख लेखापाल भोजराज खनाल, सल्लाहकार धनराज भट्टराई, शिक्षक मिथलेश साह लगायतको आतिथ्यता रहेको थियो। साथै विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।



