साउन १ गते,इनरुवा । नेपाल–भारत सिमानाको सुनसरी दसगजामा सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतीय सुरक्षा बल (एसएसबी) बीच संयुक्त गस्ती सुरु गरिएको छ।
सीमानामा बढ्दो मानव बेचबिखन, अवैध ओसारपसार, चोरीपैठारी तथा अन्य आपराधिक गतिविधिमा नियन्त्रण गर्ने उद्देश्यले संयुक्त गस्ती सञ्चालन गरिएको हो।
सशस्त्र प्रहरी बल हेडक्वाटर ४ नम्बर गणका अनुसार सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुनेस्थित नेपाल भारत सीमा क्षेत्र हरिपुर,भीमनगर नाकामा यो गस्ती सुरु गरिएको हो।
स्थानीय देवराज यादवका अनुसार खुला सीमाका कारण बढ्दै गएको अपराध नियन्त्रण गर्न यो पहल प्रभावकारी हुने विश्वास गरिएको छ।
सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपी भन्टाबारीका नायब उपरीक्षक केदारजङ्ग थापाले नियमित संयुक्त गस्तीले सीमामा हुने आपराधिक गतिविधिमा उल्लेखनीय नियन्त्रण भएको बताउनुभयो। “दसगजा क्षेत्रमा संयुक्त गस्तीले मानव बेचबिखन, चोरीपैठारी जस्ता गतिविधिमा रोकथाम गर्न सहयोग पुगेको छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार एसएसबीका विभिन्न युनिटहरूसँग समन्वयमा संयुक्त गस्तीलाई नियमितरूपमा अगाडि बढाइँदैछ। सीमा सुरक्षामा यस्तो प्रकारको सहकार्यले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास पनि गरिएको छ।



