साउन २२ गते,इनरुवा । सुनसरीकाे गढी गाउँपालिका–६ मा अवस्थित हनुमान मन्दिरमा तोडफोड, बोटबिरुवा उखेल्ने तथा पुजारीमाथि अभद्र व्यवहार गरिएको घटना सार्वजनिक भएको छ।
स्थानीय पुजारीका अनुसार गत साउन १८ गते दिउँसो करिब २ बजे गढी–६ कै एक परिवारका दुई जना सदस्यले मन्दिरको घेराबेरा तोडफोड गर्नुका साथै मन्दिर परिसरमा रोपिएका बोटबिरुवा उखालेर फालेका थिए। सो कार्य रोक्न खोज्दा उनीहरूले पुजारीमाथि गालीगलौज गर्दै धक्का दिएको आरोप लागेको छ।
पुजारीले बताएअनुसार, एलानी जग्गामा करिब १५ वर्षअघि स्थापना गरिएको मन्दिरमा यसअघि कुनै विवाद थिएन। तर उक्त दिन ती व्यक्तिहरूले “जग्गामा जान सडक आवश्यक परेको” भन्दै जबर्जस्ती घेराबेरा तोडफोड र बोटबिरुवा उखाल्न थालेपछि विवाद चर्किएको हो।
समाजका केही व्यक्तिहरूले समेत सम्झाउन खोज्दा तिनलाई समेत अपशब्द बोलेको र दुर्व्यवहार गरिएको बताइएको छ। उक्त घटनापछि छिटहा प्रहरी चौकीमा निवेदन दिइए पनि प्रहरी प्रशासनले कुनै चासो नदेखाएको पीडित पक्षको गुनासो छ।
न्यायको खोजीमा पीडित पक्ष साउन २२ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गराउन पुगेका थिए। तर प्रहरी पक्षले “यो विषय न्यायिक समितिबाट समाधान गर्ने खालको हो” भन्दै उजुरी लिई मुद्दा दर्ता नगरी फर्काएको पीडितको भनाइ छ।
स्थानीयवासीले धार्मिक स्थलमाथि गरिएको आक्रमण र प्रहरीको निष्क्रियताप्रति चिन्ता व्यक्त गरेका छन् भने पिडित पक्षले शुक्रबार पुनः आम गाउँवासीलाई लिएर साे मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाने र प्रहरीले चासाे निलिए जिल्ला प्रशासन कार्यालय सुनसरी समेत जाने कार्यक्रम रहेकाे जानकारी गराए ।



