साउन ९ गते,इनरुवा । आफूलाई प्रहरीको सादा पोशाकमा खटिने कर्मचारी भएको भन्दै सर्वसाधारणलाई धम्की दिई रकम असुल गर्दै हिँडेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इनरुवा नगरपालिका वडा नं-९ निवासी हरेराम मेहेताको छोरा ३० वर्षीय पवन मेहेताले पछिल्ला दिनहरूमा “म जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोशाकमा खटिएको प्रहरी हुँ” भनी विभिन्न व्यक्तिहरूलाई डर त्रास देखाई रकम असुल्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
साउन ८ गते बिहिबार साँझ ७ बजेतिर अस्थायी प्रहरी पोष्ट पोखरीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पवन मेहेतालाई भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ चप्राहा क्षेत्रबाट को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।



