इनरुवा । इनरुवामा सम्पन्न प्रदेश स्तरीय नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।
कोशी प्रदेश सामाजिक बिकास मन्त्रालयको आयोजनामा सम्पन्न प्रतियोगितामा मोरङलाई हराउँदै सुनसरीले उपाधि जितेको हो ।
इनरुवा जेल फिल्डमा संचालित तीन दिने नेत्रहीन क्रिकेट प्रतियोगिताको फाइनलमा मोरङले सुनसरीलाई जितका लागि ४५ रनको लक्ष दिएको थियो ।
नेत्रहीन क्रिकेट टिम सुनसरीको टोलीले ७ विकेटको सहज जित सहित प्रतियोगिता जितेको हो । १० ओभरमा खेलाइएको खेलमा सुनसरीले बिजयी लक्ष ३ दशमलव १ ओभरमा पुरा गरेको हो ।
सुनसरी, मोरङ र पाँचथर गरी तीन टिमले सहभागिता जनाएको प्रतियोगिता कोशी नेत्रहीन क्रिकेट संघ धरानको आयोजनामा सम्पन्न भएको हो ।
प्रतियोगिताको बिजेता र उप–बिजेताले शिल्ड र प्रमाणपत्रका साथै नगद रकम प्राप्त गरेको कोशी नेत्रहीन क्रिकेट संघ धरानका अध्यक्ष बैजनाथ मेहताले बताए । मेहताका अनुसार प्रतियोगितामा सहभागी तीनवटै टिमका खेलाडीलाई इनरुवामा राखेर तीन दिने प्रशिक्षण दिइएको थियो । तालिम पश्चात प्रतियोगिता आयोजना गरिएको थियो ।
इनरुवामा सम्पन्न प्रतियोगिता कोशी नेत्रहीन क्रिकेट संघको तेस्रो संस्करण हो । नेत्रहीनहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गर्दै आएको नेत्रहीन अभियान्ता शम्भु भट्टराईले जानकारी दिए ।
श्राेत : बर्णमाला दैनिक